dhumus-suntali-namuna-news-nepal

अन्तराष्ट्रिय क्रिकेट मैदानको अपरिर्हाय रहेको र सो निर्माणको संयोजन गर्नुपर्ने सुझाव आएपछि हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ मैदान निर्माणका लागि संयोजन तर्फ अग्रसर भएका छन् ।

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।

यो सँगै उनले बिहिबार सामाजिक सञ्जाल फेसबूक मार्फत् सन्देश लेख्दै,’ सबैको चाहना अनुसार अन्तराष्ट्रिय क्रिकेट मैदानको निर्माणको लागि सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।’

उनले फेसबूकमा भनेका छन्, ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्बेको काम सकेर मास्टर प्लान, डि.पि.आर र ई.आई.ए को प्रकृयामा अघि बढिरहेको बेला चौर्तेफी रुपमा विभिन्न क्षेत्रबाट नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्रकारको सुझाव अनि अनुरोध आईरहेकै थियो ।’

उनले अघि भने, ‘हामीलाई दुवै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं ।’

नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको उनले भनेका छन् ।

धुर्मृसले उक्त अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्ने बताएका छन् ।

उनका अनुसार ,’ यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो ।’

यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं, धुर्मुसले भनेका छन् ।

सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं, उनको भनाई छ ।

यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाललाई पनि आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्ने, धुर्मुसले बताएका छन् । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्ने धारणा ,उनले व्यक्त गरेका छन् । ।

त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?

यसको जवाफमा फेसबूकमा धेरैबाट पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।

धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए ।