काठमाडौं —११ औं विश्व अटिजम जनचेतना दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर महिनाव्यापी मनाउन लागिएको छ । सन् २००८ यता हरेक अप्रिल २ तारिखका दिनमा विश्वभर अटिजम दिवस मनाइन्छ ।

अटिजम केयर नेपाल सोसाइटीले शनिबार पत्रकार सम्मेलन गर्दै अटिजम दिवसमा आयोजना गरिने कार्यक्रमहरुको बारेमा जानकारी दिएको छ । संस्थाले १० वर्षदेखि अटिजम भएकाहरुको पहिचान र शशक्तिकरणमा काम गरिरहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संस्थाकी अध्यक्ष डा. सुनिता मलेकुले अटिजमको पहिचान र सचेतना विस्तारका लागि महिनाव्यापी कार्यक्रम गर्ने बताइन् ।

अटिजम एउटा मस्तिश्कको विशेष अवस्था हो जसले व्यक्तिको संचार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्धहरु स्थापित गर्न बाधा पुर्याउँदछ । अटिजम हरेक ६८ जना जन्मेका शिशुहरुमध्ये १ जना शिशुमा हुने विश्वव्यापी तथ्यांक रहेको छ । अटिजम केटीमा भन्दा केटामा हुने दर पाँच गुणाले बढि रहेको छ । अटिजमलाई संयुक्त राष्ट्रसंघ, विश्व स्वास्थ्य संगठन, अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन लगायतले ग्लोबल पब्लिक हेल्थ क्राइसिस भनेको छ । अटिजम रोग लाग्नुको कारण र कुनै ठोस उपचार नहुनेभएकाले यसलाई संकटजनक अवस्था भनिएको छ ।