MY-SCHOOL-namunanewsnepal

काठमाडौं—विद्यालय भवनमा रंग लगाउनु भएको छैन वा आफूखुशी रंग लगाउनु भएको छ भने अबदेखि सो कार्य गर्न नपाइने भएको छ । रंग लगाउनु भएको छैन र अन्य रंग लगाउनु भएको छ भने अबदेखि पहेंलो रंगले विद्यालय भवनलाई रंग्याउनुपर्ने भएको छ ।
शिक्षा विभागले विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन निर्देशन दिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागले सार्वजनिक भवनहरुमा प्रयोग हुने रंग सम्बन्धी निर्देशिका २०६९ जारी गरेको थियो ।

तर, यसको पालना नभएपछि शिक्षा विभागले सबै जिल्ला शिक्षा कार्यालयहरुलाई ‘कलर कोड’ प्रयोग गर्न परिपत्र गरेको छ ।

निर्देशिकाको अनुसूची ५ अनुसार विद्यालयको मुख्य भाग प्लास्टर गरेको हुनुपर्ने छ र फिका पहेंलो रंग लगाउनुपर्ने छ । पहेंलो रंग उज्यालो हुने र वुद्धिजिवीलाई मन पर्ने भएकाले यसलाई बाहिरी भागमा प्रयोग गर्न भनिएको छ ।

भवनको छानो रातो रंगको टेराकोटा टाइल वा स्लेट हुनुपर्ने छ । यसैगरी झ्याल र ढोकाको चौकोस तथा खापा सेतो वा गाढा खैरो हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । कक्षा कोठाका भित्ता क्रिम वा आईभोरी रंगको हुनुपर्ने छ ।
विभागले कार्यमा एकाग्रता ल्याउने, उज्यालोपन बढाउने र मैलो नहुने भएकाले यस्तो रंग प्रयोग गर्न निर्देशन दिएको हो ।

यसैगरी सिलिङ, सभाकक्ष, करीडोर र भर्‍याङको भित्ताको माथिल्लो भागमा सेतो रंग लगाउन पर्ने छ । करीडोर र भर्‍याङको तल्लो भागमा भने खैरो रंग लगाउनुपर्ने छ ।
सरकारले यसअघि विद्यालयका बसहरु पहेंलो रंगको हुनुपर्ने नियम बनाएको थियो । जसलाई धेरै विद्यालयहरुले लागु गरेको पाइएको छ ।