अमेरिकाले चिनिया सामानमा भारि कर लगाउंदै

0
377
images..namunanews.com

अमेरिकाले २ सय अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ । ६ हजार भन्दा बढी सामानमा लगाइएको पछिल्लो कर अहिलेसम्मकै उच्च भएको बीबीसीले उल्लेख गरेको छ । विशेषत: चीनमा उत्पादित हाते झोला, कपडा, खाद्यन्न लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको हो । तर स्मार्ट वाच लगायतका सामानमा भने कर लगाइएको छैन ।

नयाँ कर व्यवस्था २४ सेप्टेम्बरबाट लागू हुनेछ । सुरुवातमा १० प्रतिशत हुँदै आगामी वर्षको सुरुवातमा २५ प्रतिशत कर लगाउने अमेरिकाले जनाएको छ । चीनले अमेरिकी कदमप्रति कडा जवाफ दिने जनाएको छ । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले अमेरिकी कदमविरुद्ध चीनले आफ्नो रक्षात्मक रणनीति अपनाउन बाध्य हुने बताउनुभएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे त्यसलाई अझ बढाउने चेतावनी दिनुभएको छ ।

पछिल्लो कदमपछि अमेरिका र चीनबीचको व्यापार युद्ध उत्कर्षमा पुगेको र यसको नकारात्मक असर अन्तर्राष्ट्रिय बजारमा पर्ने विश्लेषण गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अनुचित तरिकाले व्यापार अघि बढाएकोले त्यसको जवाफमा पछिल्लो कदम चालेको र यसले अमेरिकी कोषमा रकम वृद्धि हुने बताउनुभएको छ ।
उहाँले त्यसका अतिरिक्त थप दुई सय साठी अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ ।