raprapa_namunanews

डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका सहमहामन्त्री नवराज दाहालले आफ्नो राजीनामा दिएको घोषणा गरेका छन्।

पार्टी स्थापनाकालदेखि नै राप्रपामा आबद्ध दाहालले स्वतन्त्र बस्ने निर्णय गर्दै आफ्नो पदबाट राजनीनामा दिएका हुन्। नेतृत्वबाट पार्टीले अँगालेको विचार स्थापित हुन नसक्ने ठहरका साथ आफूले पार्टी त्याग गरेको उनले बताए।

‘पार्टीमा दलाल प्रवृत्ति हाबी भएको छ,’ उनले भने, ‘यस्तो पार्टीबाट मुलुकको निकासका लागि खास प्रकारको भूमिका निर्वाह हुन सक्दैन।’ पार्टी विधि, विधान र पद्धतिभन्दा सेटिङ र सिन्डिकेटमा चलेको उनको आरोप छ। पार्टी दलालहरुको कब्जामा पुगेकोले आफू जस्ता राजनीतिक एवं वैचारिक राजनीतिकर्मीलाई उक्त पार्टीमा बस्न नैतिकताले नदिएको उनले बताए।

दाहाल राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष समेत हुन्।