Nepali Cricket team-namunanews.com

एशिया कप छनोट क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, वसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करन के.सी., ललित भण्डारी, ललित नारायण राजवंशी टोलीमा अटाएका छन् । त्यस्तै आरिफ शेख, प्रदिप ऐरी, रोहित कुमार पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशान्त भारीले स्थान बनाएका छन् । टोलीमा किशोर महतो र सागर पुन पनि अटाएका छन् ।

नेदरल्याण्ड्स विरुद्धको एक दिवसीय खेलमा घाईते भएका शरद भेषावकरलाई विश्राम दिईएको छ । भेषावकर पूर्ण रुपमा स्वस्थ हुन १ महिना लाग्ने भएकाले उनलाई विश्राम दिइएको हो ।
हाल १९ सदस्यीय रहेपनि अन्तिम १५ सदस्यीय टोलीको छनोट केही समयपछि गरिने टिम म्यानेजर तथा टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिनुभयो । टोलीले आगामी मंगलबारबाट प्रशिक्षण थाल्नेछ ।

नेपाली टोलीलाई ब्याटिङ प्रशिक्षणका लागि भारतीय प्रशिक्षक अपुर्वा देशाई सोमबार नेपाल आउँदैछन् । आगामी भदौ ४ गते श्रीलंका जाने नेपाली टोलीले त्यहाँ ३ वटा अभ्यास खेल खेल्नेछ । श्रीलंकाबाट टोली प्रतियोगिता स्थल मलेसिया जानेछ ।