म्याग्दीको कार्यालय भवन उद्घाटनका लागि शनिबार बेनी आएका सभापति देउवाले सरकारको कार्यशैलीप्रति निकै टिप्पणीहरु गरेका छन । सरकारले आफ्नो कार्यशैली नसुधारे कम्युनिस्ट फाल्न कम्युनिस्ट विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
सरकारले दुई तिहाई बहुमत भएपनि एउटा पनि देखाउन लायक काम गर्न नसकेको र देशमा हत्या, हिंसा र असुरक्षा बढेको छ भन्ने जस्ता टिप्पणी गरे। देउवाले भने ‘अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्न खोजेको छ। वाइडबडी, सुनकाण्ड जस्ता ठूला भ्रष्टाचार छताछुल्ल भएको छ। हत्यारा र अपराधीको संरक्षण गर्ने सरकारसँग जनताले अपेक्षा गर्ने ठाउँ छैन।’
‘हामीले सात सालमा राणा फाल्न, २०४७ सालमा पञ्चायत फाल्न र २०६२/६३ मा राजतन्त्र फाल्न आन्दोलनको नेतृत्व गर्‍यौँ’, देउवाले भने ‘संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप र सुशासन तथा सुरक्षामा यस्तै ब्यवहार देखाउने हो भने फेरि एकपटक कम्प्युनिस्ट फाल्न आन्दोलन गर्नु नपरोस्।’शनिबार बिहान बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी कुण्डको स्नान गरेका देउवाले त्यहाँ प्राकृतिक स्वास्थ्य उपचारको प्रशस्त सम्भावना भएको बताए। उनले सडक र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्ड स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास हुने बताए।
उक्त उद्घाटनमा उपस्थित नेपाली कांग्रेसका अर्का नेतारामचन्द्र पौडेलले पनि सरकारको निकै टिप्पणीहरु गरेका छन । सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरे। सम्झौतामा उल्लेखित ‘जनअभिमत’ भन्ने शब्दका कारण शंका पैदा भएको बताए।
पौडेलले प्रधानमन्त्री ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको दावी गरे। ‘ओलीसँग विकास र शासन गर्ने आइडिया नै रहेनछ। दुनियाले पत्याउन छाडे। शान्ति सुरक्षामा सरकार नागिन थालेको छ’, पौडेलले भने ‘पछिल्लो एक वर्षमा बनेको भ्रष्टाचारको महलमा सवृद्धिको जग बस्न सक्दैन। लोकतन्त्र खतरामा परेको छ।’