कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि

0
143
Krishna-Prasad-Sitaula_namunanews.com

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’

उनले शुक्रबार स्वाब परीक्षण गराएका थिए । शनिबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो ।

कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिएका छन् । उनी हाल होम आइसोलेसनमै छन् ।

संक्रमण पुष्टि भएका कारण उनी आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा गएनन् ।

आकस्मिक बैठकले प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।