केरुङ रेलमार्ग निर्माण छलफल अन्यौलमा

0
508

चीन सरकारले रेल विभागका अधिकारीको सरुवा गरेपछि दुई देशीय रेलमार्ग सम्झौता र वार्ता प्रक्रिया प्रभावित भएको छ ।
उक्त कारण केरुङ रेलमार्ग निर्माण सम्बन्धमा चीन र नेपालका अधिकारीबीचको वार्ता तथा सम्झौता प्रक्रिया लम्बिएको छ । प्रि फिल्ड प्रतिवेदन तयार गरेपछि २ पटक नेपालमा र १ पटक चीनमा वार्ता भएपनि चीनमा हुने भनिएको चौंथो छलफल अन्यौलमा परेको हो । १ सय ७१ किलोमिटरको दुरी रहेको सो रेलमार्गका बिषयमा चिनियाँ रेल्वे को अपरेशनले प्रारम्भिक अध्ययन प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाईसकेको छ । सोही प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन बनाउन दुबै मुलुकका अधिकारीले सहमति जनाएपनि चौंथो छलफल नै प्रभावित बनेको हो ।रेल विभागका महानिर्देशक बलराम मिश्रले चिनियाँ अधिकारीहरुको सरुवापछि रेल्वे कोअपरेशन कमिटीमा नयाँ अधिकारी नियुक्त भएकाले २ मुलुकबीचको चौंथो छलफल केही पछि सरेको बताउनुभयो । यद्यपि, त्यसका लागि नेपाली पक्ष निरन्तर संवादमा रहेको मिश्रको भनाई छ । परियोजना सम्पन्न गर्न २ खर्ब ७५ अर्ब रुपैयाँको बजेट आवश्यक रहेको भन्दै चिनियाँ रेल्वे कोअपरेशनको उच्चस्तरीय टोलीले सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाईसकेको छ । चिनियाँ टोलीले केरुङ–काठमाडौं रेल मार्गबाहेक काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको पनि स्थलगत अध्ययन गरेको थियो । सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार सो रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्ला जोड्नेछ । पोखरा–बुटवल रेलमार्गको भने अध्ययन हुन बाँकी छ ।