केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउने चिकित्सक संघको चेतावनी

0
387
nepal-chikiska-sng_namunanews.com

२६ असार, काठमाडौं । नेपाल चिकित्सक संघले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य सेवासम्बन्धी माग तत्काल सम्बोधन नगरे देशभरका स्वास्थ्य सेवा बन्द गराउने चेतावनी दिएको छ ।

संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी दिएका हुन् । उनले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्यबाहेकका अन्य मागसँग भने संघलाई कुनै सरोकार नरहेको पनि स्पष्ट पारे । माग पूरा गर्न सरकार गम्भीर नभएको र आफ्नो स्वास्थ्य बिग्रँदै गएको अवस्थामा पनि डा. केसी ‘जुम्लामै ज्यान गए पनि अनसन नतोड्ने’ बताउँछन्। समग्र नागरिकको हितका लागि आफूले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग अघि सारेकाले सास रहेसम्म लडाइँ जारी राख्ने उनले बताए।

‘स्वास्थ्य क्षेत्रमा माफियाकरण हाबी भइरहेको छ। वर्तमान सरकार ती माफियालाई साथ दिने मुख्य पात्र हो,’ अनसनस्थलबाट सेतोपाटीसँग कुरा गर्दै डा. केसीले भने, ‘चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको विकृति अन्त्य हुने गरी कानुन नबनेसम्म मेरो आन्दोलन रोकिन्न।’

gobinda kc_namunanews.com

वर्तमान सरकारले चिकित्सा शिक्षाबाट मुनाफा कमाउन पल्किएका व्यापारीहरूको प्रलोभनमा परेर विधेयक ल्याउन लागेको आरोप लगाउँदै त्यसलाई पारित हुन नदिने केसीले बताए। ‘हाम्रो शान्तिपूर्ण आन्दोलन आमनागरिकका लागि हो। तीन करोड नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिलाउन र मेडिकल शिक्षामा व्याप्त भ्रष्टाचार अन्त्य गर्नु नै हाम्रो उद्देश्य हो,’ उनले भने, ‘हाम्रा जायज माग सरकारले सम्बोधन नगरेसम्म सत्याग्रह जारी रहन्छ।’

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई भेटेर आफूले समस्या समाधानका लागि उच्च स्तरीय समिति तत्काल बनाउन माग गरिएको पनि जानकारी दिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दल बैठक क्रममा डा. केसी र चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा अडानका साथ कुरा राख्न आफ्ना सांसदलाई निर्देशन दिए। भने, ‘केसीलाई उक्साउँदै जुम्लामा सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइरहेका छन्। बेमौसममा कराउनेहरू केही दिनमा आफैं चुप लाग्छन्।’

संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन विगत ३ दिनयता हातमा कालो पट्ठी बाँधेर विरोध प्रर्दशन गर्दै आएको छ । अध्यक्ष श्रेष्ठले वरिष्ठ चिकित्सक केसीको मागलाई राजनीतिक आवरणबाट हेर्न नहुने पनि स्पष्ट पारे ।