धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्डसम्म केबलकार निर्माण गरिने भएको छ । दुप्चेश्वर गाउँपालिका २ कुटुङसाङदेखि गोसाइँकुण्ड गाउँपालिका ५ स्थित कुण्डसम्म केबलकार निर्माण गरिने भएको छ ।उक्त प्रस्ताव लाङटाङ केबलकार प्रालिले अघि बढाएको हो ।केबलकार सञ्चालन हुने क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन को लागि प्रक्रिया अघि बढिसकेको प्रालिका अध्यक्ष भीम ढकालले बताए ।कम्पनीका अनुसार पाँच वर्षभित्रमा केबलकार निर्माण गरिसक्ने र त्यसको लागत २ अर्ब रुपैयाँ लाग्ने जनाएको छ । दुप्चेश्वर गाउँपालिका २ कुटुङसाङ २४७० मिटरमा उचाइमा रहेको छ भने गोसाइँकुण्ड ४३८० मिटर उचाइमा छ । केबलकारको लागि कुटुङसाङदेखि गोसाइँकुण्डसम्म दुरी ९ किलोमिटर हुने कम्पनीले जनाएको छ ।गोसाइँकुण्डसम्म केबलकार सञ्चालनका लागि अन्य स्थानबाट पनि प्रक्रिया बढेको भए पनि कुटुङसाङदेखि गोसाइकुण्डसम्म निर्माण हुने केबलकार आन्तरिक तथा बाहृय पर्यटकका लागि सहज हुने कम्पनीको दाबी छ ।काठमाडौंको सुन्दरीजल हुँदै गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवीय हिसाबले रमाइलो पदयात्रा मानिन्छ ।गोसाइँकुण्ड जाने तीर्थयात्री, बाहृय र आन्तरिक पर्यटकहरू काठमाडौंको सुन्दुरीजलबाट यात्रा सुरु गर्छन् । अधिकांश तीर्थयात्री नुवाकोटको त्रिशूली हुँदै रसुवा सदरमुकाम धुन्चेबाट पदयात्रा गर्छन् भने सुन्दरीजलको बाटो हिमाली दृश्यवलोकन गर्दै गोसाइकुण्ड पुग्छन् ।केबलकार स्थापना गर्ने प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस भइसकेको कम्पनीले जनाएको छ । सुन्दरीजलबाट आउने तीर्थयात्री र पर्यटकहरू तामाङ बस्ती हुँदै मूलखर्क पुग्छन । वैशाख(जेठमा फूल्ने गुराँस र सल्लाले यात्रीलाई मन चंगा गराउदै बोड्लाङ भन्ज्याङ हुदैचिसापानी पुग्छन् । चिसापानी नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको सिमाना हो ।यो पर्यटकीय गन्तव्यसमेत हो । चिसापानी, पाटीभन्ज्याङ हुँदै कुटुङसाङ पुगिन्छ । यो सिन्धुपाल्चोक र नुवाकोटको सीमामा पर्छ । पूर्वतिर हेलम्बु जाने पदयात्रा मार्ग पनि नजिक छ । यहीबाट गोसाइँकुण्ड पदयात्रा, पवित्र दुप्चेश्वर महादेवको दर्शन गरेर पनि हेलम्बु, तार्केघ्याङ पुग्न सकिन्छ ।गोसाइँकुण्डसम्म केबलकार सञ्चालन गर्दा स्थानीय स्तरमा रोजगारीको सिर्जना हुने, धार्मिक तीर्थयात्री तथा पर्यटकहरू वृद्धि हुने कम्पनीले जनाएको छ । कुटुसाङबाट मात्र नभई रसुवाको धुन्चे र नुवाकोटको घ्याङफेदीबाट पनि केबलकार निर्माण गर्ने प्रस्ताव छ ।