चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया : प्रधानमन्त्री ओली

0
385
KP-Sharma-Oli_namunanews.com

काठमाडौं- प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेको मार्सी चामलको भातबारे प्रतिक्रिया दिएका छन्। यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेपाली कांग्रेस सरकारको लोकप्रिय कामको विरुद्धमा लागेको बताएका छन् ।

मंगलबार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी निकटका पत्रकारहरुसँगको आन्तरिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारका राम्रा कामबाट आत्तिएर कांग्रेसले मार्सी चामलको विज्ञापन गरेर हिँडेको बताए।

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा अर्का अध्यक्ष प्रचण्ड र आफू एउटा अर्कै सन्र्दभमा गएर खाना खाएको विषयलाई केही मुद्दा नपाएपछि कांग्रेसले ठूलो मुद्दा बनाएको भन्दै कटाक्ष गरे । ‘मैले जिन्दगीभर आडम्बरी कुरा गरेको छैन, दुर्गा प्रसाईंको घरमा गएर प्रचण्डजी र मैले भात खाएका हौं। भात खानु गलत हो भने गलत हो तर त्यसको फोटो खिचेर फेसबुकमा राख्नु गलत होइन,’ प्रधानमन्त्री ओलीले भने,‘मार्सी चामल भन्या पनि के नै हो र त्यसको भात पनि मिठो हुँदैन। इन्डिया गेट र लालकिलाका चामलको भात खानेले अहिले यसलाई मुद्दा बनाएका छन्।’

KP-Sharma-Oli1_namunanews.com

उनले भने–‘अहिले बासमती चामल खानेहरु कराएका छन् मार्सी चामल खायो भनेर । त्यो कालो चामल त्यति मिठो पनि हुँदैन । हामीले दुर्गाजीकोमा एउटा सन्र्दभमा खाएका हौँ, यसमा लुकाउनुपर्ने आवश्यकता केही छैन । विपक्षी आत्तिएको छ, मुद्दा केही छैन, मार्सी चामलको विज्ञापन गरेर हिँडेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारले राम्रा काम गर्न थाल्दा प्रतिपक्षी दल कांग्रेसले अहिलेदेखि नै विरोध गर्नु उचित नभएको उल्लेख गरे । उनले फुटबल खेलमा छिर्के लगाउने, जर्सी समातेर तानेर गोल हाल्न नदिने जस्तै आफूमाथि पनि त्यस्तै खेल भएको आरोप लगाए । प्रधानमन्त्री ओलीलेसामाजिक न्यायको क्षेत्रमा असाधारण ढंगले विकास भएको बताउँदै हरेक क्षेत्रमा निश्चित समयभित्र महिला सहभागिता ३३ प्रतिशत अनिवार्य गर्ने दाबी समेत गरे ।
उनले हरेकलाई शिक्षा, विद्यालय भर्ना अनिर्वाय मात्र नभई ड्रपआउट रोक्ने गरी काम गर्ने बताए ।