टिपर दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १५ को सनाखत

0
353
tipper_namunanews.com

काठमाडौं,असार २२ -मुस्ताङको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार मृतकको संख्या १९ पुगेको हो । मृत्तकमध्ये १५ जनाको शव सनाखत भएको छ ।

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिएका छन् । घाइतेलाई सदरमुकाम जोमसोमतर्फ लगिँदैछ । उनका अनुसार एउटा हेलिकप्टर जोमसोम पुगेको छ । प्रहरी घटनास्थलतर्फ लागेको छ ।

जोमसोम लोमान्थाङ सडक निर्माणमा खटिएका मजदुरचढेको बा २ क २२१९ नम्बरको टिपर बेनी–जोमसोमको कोरला सडक खण्डअन्तर्गत लो घ्याकर दामोदर कुण्ड–३ स्थित स्याङ्बोचेमा करीब साढे १ बजे सडकबाट तल खसेको हो । प्रहरीका अनुसार टिपरमा ३२ जना सवार थिए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो । टिपर सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा ६ जना महिला र १३ जना पुरुष रहेका छन् । मृत्यु हुनेमध्ये रोल्पाका ९ जना र दाङका ५ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार रोल्पा थबाङ १ का २८ वर्षका सुकमान रोका, ३६ वर्षका मौसम घर्ती, थबाङ ५ कि ३१ वर्षकी जीतमाया घर्ती, २० वर्षकी सिर्जना मगर, २३ वर्षका रास्त्रे रोका, २३ वर्षकी जीतकुमारी पुन, १९ वर्षका महेश रोका रहेका छन् । त्यस्तै रोल्पा सुनछहारी १ कि ३२ वर्षकी सुन्तु घर्ती र ३२ वर्षका राजकुमार पुनको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दाङको राजपुर गाउँपालिका १ का २५ वर्षका कमल बुढा, ३० वर्षका बालकुमार घर्ती, राप्ती गाउँपालिका ३ कि ३१ वर्षकी कविता घर्तीमगर, ३५ वर्षका सुबेर चौधरी, राप्ती ९ कि ४३ वर्षकी शान्ति थापाको पनि उक्त दुर्घटनामा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा धादिङका २३ वर्षका सुजन घलान, ओखलढुंगा चम्पादेवी गाउँपालिका २ का २० वर्षका जीवन माझी, कैलालीको नारायणपुर नगरपालिका ८ का २२ वर्षका बिन्ती घर्ती, कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ३५ वर्षका कमान सिंह रोका र स्याङ्जा अर्जुनचौपारी गाउँपालिका १ का २४ वर्षका कृष्ण क्षेत्रीको पनि मृत्यु भएको छ ।