गाँजा ओसारपसार गरेको आरोपमा २० किलो गाँजासहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । टेम्पो रिजर्भ गरेर धनकुटाबाट गाँजा विराटनगरतर्फ लगिदै गर्दा पक्राउ गरिएको हो । धनकुटाको पाखि्रबास नगरपालिका-६ बस्ने ३५ वर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिका-१ बस्ने २३ वर्षीय आइते भनिने मदन राई, सहिदभूमि-३ घर भई हाल धरान- १७ बस्ने २३ वर्षीय विजय राई र विराटनगर-१५ बस्ने ३६ वर्षीय सुरजकुमार साह पक्राउ परेका छन् । पक्राउ परेका चारैजनालाई थप अनुसन्धानकालागि सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ । उनीहरुसँगैका एकजना फरार रहेका छन् । प्रहरीले नरबहादुर, मदन र विजयलाई धरान-१३ शिवधाराबाट र सुरजलाई धरान-८ साम्पाङ चोकबाट पक्राउ गरेको हो । उनीरुको साथबाट नगद ५० हजारसहित को१ह ६२५० टेम्पो र को९प ५७२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । गाँजा विक्री वितरण र ओसारपसारमा संलग्न भएको आरोपमा पक्राउ परेका चारैजनालाई सोमबार सार्वजनिक गर्दै धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले भने, ‘धनकुटाबाट टेम्पोमा प्याकिङ गरेर २० केजी गाँजा धरान हुँदै विराटनगर लगिदैछ भन्ने सूचनाका आधारमा शिवधारामा प्रहरीले ‘एम्बुस थापेर’ पक्राउ गरिएको हो ।’ गाँजा लोड गरेको टेम्पोमा नरबहादुर र मदन चढेका थिए । टेम्पोलाई नाम नखुलेका अर्का एकजनासहित विजय राईले मोटरसाइकलले स्कर्टिङ गरेर ल्याइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले मोटरसाइकल र टेम्पो रोकेर खानतलासी गर्दा मोटससाइकलको पछाडि बसेका युवा तत्कालै भागेका थिए । टेम्पोमा दुईवटा झोलाभित्र एक किलोका दरले प्लाष्टिकले प्याकिङ गरेको गाँजा लुकाएर राखिएको थियो ।
तीनजनालाई पक्राउ गरेको केही समयमा विजयको मोबाइलमा विराटनगरका सुरजले पटक पटक फोन गरेका थिए । प्रहरीले ती व्यक्तिबारे सोधपुछ गर्दा मुख्य कारोबारी भएको जानकारी पाएपछि प्रहरीले गाँजा उत्पादक विजय बनेर बोल्दै ‘एकजनालाई प्रहरीले समातेको र प्रहरीसँग कुरा मिलेकाले छुटाउनकालागि १ लाख रुपैया लिएर धरान आउन’ भनेका थिए । प्रहरीका अनुसार धनकुटाको खाल्सा, छिन्ताङ, आहाले लगायतमा उत्पादित तयारी गाँजाको मुख्य खरिदकर्ता सुरज साह रहेको पनि अनुसन्धानबाट खुलेको छ । सुरजले ती गाँजा जोगबनी र पूर्वी नाका काकडभिट्टा पारी पानीट्याङ्कीका भारतीय बजारमा प्रतिकिलो २५ हजार रुपैया भन्दा बढिमा विक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।