bimansthal banda_namunanews.com

काठमाडौं,बैशाख २६ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण सेवा आधा घण्टा बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा बन्द हुन लागेको हो ।

प्रधानमन्त्रीको उडानको समयमा बिहान ११ बजेदेखि ११ः३० विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण सेवा ठप्प हुने जनाईएको छ । नेपाल वायु सेवा निगमको ‘एयरबस ए-३२०’ विमान चार्टड गरी प्रधानमन्त्री ओली बिहान ११:२५ मा ५ दिने विदेश भ्रमणका लागि निस्कनेछन्। साे क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण सेवा बन्द हुने भएकाे हाे।

प्रधानमन्त्री भियतनाम र कम्बोडिया भ्रमणमा,यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमण जादैछन् ।  यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि रहनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

भियतनामी प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोज पनि आयोजना गर्ने कार्यक्रम रहेको छ । भियतनाम भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुवै देशले द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने जनाइएको छ । भ्रमण पर्यटन र संस्कृतिमा केन्द्रित कम्बोडियाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँका आफ्ना समकक्षी हुन सेनसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

औपचारिक वार्तापछि कम्बोडियाली प्रधानमन्त्रीले प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा औपचारिक रात्रिभोज आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वाचित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहनेछन् ।