नुवाकोटमा होटल व्यवसाय

0
566

नुवाकोटमा पछिल्लो समय होटल व्यवसायमा लगानी बढेको छ। व्यापारिक गतिविधिमा वृद्धि र सडक सञ्जाल थपिएका कारण होटल व्यवसायमा लगानी बढेको हो।पहाडी संरचना रहेको नुवाकोटमा पछिल्लो पाँच वर्षदेखि होटलमा लगानी गर्ने क्रम बड्दो छ । दुई नगरपालिका र दस गाउँपालिका रहेको नुवाकोटमा होटल क्षेत्रमा मात्रै तीन अर्ब रुपैयाँ लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए। रसुवागढी नाका सञ्चालनमा आएपछि नुवाकोटमा यात्रु र पर्यटकको संख्या बड्दो क्रममा छ।
नुवाकोटमा कुनै स्टार होटल नभए पनि पर्यटकका लागि पर्याप्त सेवा, सुविधा तथा गुणस्तर रहेको कार्कीले बताए।सानाठूला गरी नुवाकोटमा १६० होटल सञ्चालनमा छन्।होटलमा खाना तथा वासस्थानको गुणस्तर कायम गरेपछि एकपटक आएका ग्राहक पुन: आउने गरेको बट्टारका अर्का पर्यटन व्यवसायी राममणि अधिकारीले बताए। अधिकारीलगायत एक सय ४४ जनाले पर्यटन सहकारीमार्फत ११ करोडको लगानीमा होटल वाटर टावर सञ्चालन गरेका छन्। नारायण भट्टले वट्टार बजारको दम्की चोकमा दुई करोड लगानी गरेर आधुनिक होटल सञ्चालन गरेका छन्। युवा पर्यटन व्यवसायी दीपेन्द्र लोहनीको अगुवाइमा होटल नुवाकोट भ्यू सञ्चालनमा ल्याइएको हो। दुई करोड रुपैयाँ लागतमा निर्मित यस होटलबाट नुवाकोटका अधिकांश स्थान देख्न सकिन्छ।