www.namunanews.com

नेकपाका नेता हितमान शाक्यले पार्टी एकता प्रक्रियामा असन्तुष्टि जनाउँदै कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन् । पार्टीको स्थायी कमिटीमा नपारेपछि प्रचण्डसँग रिसाएका उनले पार्टी अध्यक्षको फोनसमेत उठाउन छाडेको नेताहरु बताउँछन् ।पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका शाक्य बैठकहरुमा उपस्थित हुन छाडेपछि विकल्पसमेत खोज्न थालिएको छ ।

तत्कालीन एमाले र माओवादीबीच जेठ ३ गते एकता भए पनि प्रदेशस्तरमा र जनवर्गीय संगठनस्तरमा भने एकता भइसकेको छैन । अहिले एकताको लागि कार्यदलस्तरमा छलफल जारी छ । यही क्रममा सोमबार अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदलको पहिलो बैठक बसेको थियो । तर, बैठकमा कार्यदल सदस्य एवम् तत्कालीन माओवादी विद्यार्थी संगठनको फ्रयाक्सन इन्चार्ज हितमान शाक्य नै उपस्थित भएनन् ।

अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘हितमान दाइ बैठकमा उपस्थित हुन असमर्थ रहेको जानकारीमा आएकाले उहाँको स्थानमा अर्को कुनै कमेरडलाई कार्यदलमा पठाइदिन पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।’

अनेरास्ववियु र अखिल क्रान्तिकारीको एकता कार्यदल बैठकले विधान मस्यौदा, राजनीतिक शैक्षिक दस्तावेज र संगठनात्मक विवरण निर्माण उपसमिति गठन गरेको छ । साथै यही असार १४ गते अनेरास्ववियु र अखिल क्रान्तिकारीका पदाधिकारीहरुको संयुक्त बैठक बोलाउने निर्णय पनि बैठकले गरेको छ ।