अबको ३० महिनाभित्र सरकारले आफ्नै स्याटलाइट लन्च गर्ने योजनाका साथ फ्रान्स सरकार र फ्रान्सेली कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ्रान्स सरकारसँग भएको यो हस्ताक्षर २५ वर्षदेखि आफ्नै स्याटलाइटको सपना देख्दै आएका नेपालीका लागि महत्वपूर्ण सुरुवात हुनसक्छ।फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा ३० महिनाभित्र आफ्नै स्याटलाइट स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा गत शुक्रबारमात्रै नेपाल फर्किएका हुन्। कम्पनीले नेपालका लागि बनाइदिने स्याटलाइट समयमै बनाएर प्रक्षेपण भएमा यो नेपालको प्रविधिको क्षेत्रमा निकै ठूलो फड्को हुनेछ। योभन्दा पनि महत्वपूर्ण कुरा नेपालका लागि आफ्नै स्याटलाइट गौरवको विषय पनि हो।नेपालको तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरण र नेपालका लागि स्याटलाइट बनाइदिने थालेस एलेनिया स्पेसबीच बाँस्कोटाको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। अन्तर्राष्ट्रिय रेडियो नियमक संस्था अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन ले नेपालका लागि निर्धारण गरेको ‘अर्बिटल स्लट’ मै स्याटलाइट राख्ने गरी यो योजना अघि बढाएको छ। सन् १९८४ मै आईटीयूले नेपालका लागि पूर्वी देशान्तरमा दुईवटा पोजिसनका स्लट उपलब्ध गराएको थियो। आईटीयूले नेपालका लागि १२३.३ डिग्री देशान्तरमा स्याटेलाइट सेयररिङ ब्यान्डअन्तर्गत ५ सय मेगाहर्जमा विभिन्न ब्यान्ड उपलब्ध गराइसकेको थियो। कम्पनीले नै प्राविधिक सहयोग गरिदिने भएकाले वार्षिक सञ्चालन खर्चमा भने केही सहजता आउला। तर अहिलेको अवस्थालाई हेर्ने हो भने वार्षिक दुई अर्बको खपत गर्ने बजार नेपालमा सिर्जना भएको छैन।