नेपाल छिरेका नक्कलि बेलायति पास्पोर्ट सहित ६ पाकिस्तानि पक्राउ

0
523
namunanews.com

नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बेलायती पासपोर्ट बोकेर नेपाल भित्रिदै गरेका ६ पाकिस्तानीलाई पक्राउ गरेको छ । नेपाल छिरेका ६ जनामध्ये ५ जनासँग बेलायतको नक्कली पासपोर्ट रहेको सूचना पाएपछि अध्यागमनले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा पछ्याउदै गर्दा ४ जनालाई आइतबार राति ठमेलको एक होटल र २ जनालाई सोमबार बिहान कतार जान लाग्दा विमानस्थलबाट पक्राउ गरिएको हो।

स्रोतका अनुसार पक्राउ परेका ६ मध्ये ५ जनासँग रहेको बेलायती पासपोर्टको वैधता जाँच्न अध्यागमनले काठमाडौंस्थित बेलायती दूतावासको सहयोग लिएको थियो। दूतावासका कर्मचारीले ती पासपोर्ट नक्कली रहेको पुष्टि गरेका थिए।स्रोतका अनुसार पाकिस्तानी पासपोर्टवाहक मजहर फरिद उद मानव तस्करी समूहको नाइके हुन सक्ने विभागको आशंका छ।पक्राउ परेकामा घौरी नुजात नाज, इल्ले फिजा, इराम शाहजादा, सोहेल मुहम्मद, ईली जाका र दिन मजहर फरिद उद छन्।

उनीहरूले बेलायती नक्कली पासपोर्ट कसरी हात पारे र नेपालमा उनीहरूको सम्पर्क व्यक्ति को हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।एक साताको अन्तरमा भएका यी लगातार घटेका घटनाहरुले नक्कली पासपोर्टका आधारमा नेपाल छिर्ने र यहाँबाट युरोपेली मुलुक प्रवेश गर्ने प्रयास भइरहेको देखाउँछ। अध्यागमन विभागका एक कर्मचारीका अनुसार अध्यागमनको कमजोर प्रविधिको फाइदा उठाउँदै मानव तस्करहरूले नेपाललाई ट्रान्जिट बनाउन खोजेको देखिन्छ।

पक्राउ परेकाहरू पाकिस्तानबाट नेपाल आएर युरोपेली देश जान खोजेको आशंका गरिएको छ। उनीहरूमध्ये एकले आफू नेपालबाट कतार हुँदै अजरबैजान जान लागेको बताएका छन् भने अन्यले गन्तव्य खुलाएका छैनन्।