पूर्वमुख्यसचिव बलरामसिंह मल्लको निधन,

0
227
death_namunanews.com

१२ असार, काठमाडाैँ । पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित हुनुभएका उहाँको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उहाँका भाइ राजुमानसिंह मल्लले जानकारी दिनुभयो । ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आउनुभएका उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । वीरगञ्जमा जन्मनुभएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गाैला फालिएको थियो ।

उहाँका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी हुनुहुन्छ । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव हुनुहुन्थ्यो । त्यसअघि उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गर्नुभएको थियो । उहाँ जर्मनीका लागि नेपाली राजदूतसमेत हुनुभएको थियो । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिनुभएको थियो ।

  प्रकाशित मिति : १२ असार २०७६, बिहीबार
रासस