प्रदेशसभामा सम्बोधन गर्दै ओलीले भने —वर्तमान सरकार जनतावाट ‘फूलचार्ज’ भएको सरकार हो

0
120
pradeshsabha_namunanews.com

बुटवल, वैशाख १६ —प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेशसभामा सम्बोधन गरेका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२औँ बुद्धजयन्तीका अवसरमा आइतबार प्रदेश नं ५ को प्रदेशसभामा उनले पहिलो पटक सम्बोधन गरेका हुन्।

प्रधानमन्त्री ओलीले संसारलाई ज्ञानको प्रकाश बाँड्ने गौतम बुद्धको जन्मभूमिमा रहेको प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्न पाउँदा खुशी लागेको बताए। सम्बोधनका क्रममा उनले भने,‘यो बुद्धभूमि ज्ञानको केन्द्र त छँदैछ। यसलाई हामीले संसारको आराध्य पर्यटन केन्द्रका रुपमा विकास गरी देशको समृद्धिकोसमेत सहयोगी बनाउन सक्छौं।’

यस्तै प्रधानमन्त्री ओलीले फरक प्रसंगमा सिण्डिकेट, भ्रष्टाचार र अनुचित कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् । वर्तमान सरकार जनतावाट फूलचार्ज सरकार भएको बताउँदै ओलीले पिलपिल नगर्ने बताए ।

‘सिण्डिकेट तोडिन्छ, अनुचित कुरासँग सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ, म भ्रष्टाचार गर्दिैन कसैले गरेको सहन्न’ ओलीले भने ‘भ्रष्टाचारको मामिलामा अनुहार तिर हेरिन्न, को पर्छ भनेर ।’

ओलीले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी दिए । ‘कहिले काही लाग्न सक्छ, सरकार निर्मम भयो भनेर । निर्मम हुने हो जनताको सेवाका लागि’ ओलीले अघि भने, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यबधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेसंग सम्झौता हुँदैन ।’

संसदलाई संम्बोधन गर्दै ओलीले सुशासन विना विकास गर्न नसकिने भएकाले राज्य कडा हुनुपर्ने बताए । राज्य बलियो हुने शासन गर्नको लागि नभइ जनतालाई शोषित हुन धम्काइन नदिनको लागि भएको उनले बताए ।

‘केही मान्छेहरुले सरकार बलियो भयो, अनावश्यक काम गर्छ भनिरहेका छन्’ ओलीले भने, ‘सरकार बलियो तानशाही व्यवस्थामा हो । जनता बलियो भयो भने लोकतन्त्र, सरकार बलियो भयो भने तानशाही हुन्छ । हामीले जनतालाई बलियो बनाउन खोजेको हो ।’

४ जना असामाजिक तत्वले राज्य हल्लाउने अवस्था आउन कुनै हालतमा हुन नदिने ओलीले दावी गरे । ‘सरकारले त्यो अडान लिन्छ जनताको सेवाका लागि’ ओलीले भने । उनले खान नपाएको जनता खान लाउन पाउनेगरी राज्यलाई बलियो बनाउनु पर्ने बताए ।