kp shrma oli_namunanews.com

काठमाडौं,जेठ ९ – प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पती सबै श्रीमती राधिका शाक्यको नाममा रहेको छ । ओलीको सम्पतीमा २ वटा घर छन्। २ कित्ता जग्गा छ, जसमध्ये एउटा १ रोपनी र अर्को डेढ रोपनी छ। जून जग्गामा २ वटा घर छन्।

त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १७/१८ तोला गहना रहेको उल्लेख छ। नगद बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ।

श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छे बैकमा ४ लाख, प्रभु बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ। जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा पुरानो एक थान साइकलसमेत उल्लेख गरेका छन्।

उनीसँग सुनचाँदी भने क्रमश १० तोला र चाँदी १५ तोला पैत्रिक सम्पत्तिको रुपमा रहेको उल्लेख गरेका छन्। नगदको रुपमा भने उनीसँग एभरेस्ट बैंकमा २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा समेत ३० लाख स्वआर्जनमार्फत प्राप्त भएको विवरणमा खुलाइएको छ।

उनले मोरङको विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर भएको विवरणमा उल्लेख गरेका छन्। यस्तै उनले विराटनगरमा एक कठ्ठा घर भएको जग्गा र सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन्। मन्त्रीपत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ अना जग्गा रहेको विवरणमा उल्लेख छ।

रक्षा मन्त्री ईश्वर पोखरेलेको भने ४ ठाउँमा जग्गा र घर रहेको छ। टोखामा २३ आना जग्गामा उनको घर छ। पुरानो घर र जग्गा बिक्रि गरी तथा ऋण लिएर त्यो घर बनाएको बताएका छन्।

पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा छ। जसमध्ये चन्द्रगढीको जग्गा पोखरेलकै नाममा छ भने अरु श्रीमतीको नाममा छ। पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी रहेको खुलेको छ। अनुसार उनको तीन वटा कम्पनीमा शेयर लगानी छ।

पोखरेलले श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रो, कृषि विकास बैंक र मोर्डन कन्या मल्टिपल क्यापसमा लगानी गरेका छन्। बरुणमा उनको १० हजार कित्ता, कृषि विकास बैंकमा १ सय कित्ता तथा मोर्डन पल्टिपल क्याम्पसमा ५ हजार कित्ता शेयर छ।

मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैंकमा खाता छ। जून खातामा ७ लाख रुपैयाँ रहेको उनले उल्लेख गरेका छन्। जून भ्रमण भत्ता, पुस्तक बिक्रिबाट प्राप्त भएको उल्लेख गरिएको छ। आफुसँग करिब ९ तोला सुन रहेको र २५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्।

अर्थमन्त्री युवराज खतिवडाको सार्वजनिक सम्पत्ति अनुसार १ करोड ४९ लाख बरबरको जग्गा रहेको उल्लेख गरेका छन्। काठमाडौं महानगरपालिका ४ मा आफै घर बनाएको उल्लेख छ।

त्यस्तै, श्रीमती कमला खतिवडाको नाममा सोही स्थानमा १४ आना जग्गा रहेको छ। उक्त रकम बराबरको जग्गा खतिवडा, उनकी श्रीमती र संयुक्तको नाममा रहेको उनले जनाएका छन्। उनले संयुक्त राष्ट्र संघको तलबदेखि निजी बचतबाट जग्गा खरिद गरेको विवरणमा उल्लेख गरेका छन्।

त्यस्तै डा खतिवडासँग १० तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सुनको आम्दानी पारिवारिक आम्दानीबाट जोडेको उल्लेख गरेको जनाएका छन्। साथै १ किलो गहना र डेढ लाख नगद रहेको उल्लेख गरेका छन्। उनीसँग सवारीसाधनको नाममा ९ लाख ६० हजारको मोटरकार रहेको छ ।

थप विवरण हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्

सम्माननीय प्रधानमन्त्री तथा माननीय मन्त्रीहरुको सम्पत्ति विवरण