dr.kc.namunanews.com

काठमाडौं उपत्यकामा मेडिकल कलेज सञ्चालन अनुमतिको विषयमा सहमति जुट्न नसकेपछि सरकार र अनशनरत डा.गोविन्द केसी पक्षबीचको वार्ता लम्बिएको छ । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने विषयमा दुबै पक्षबीच सहमति हुन नसकेपछि वार्ता लम्बिएको हो ।
बालुवाटारमा आज भएको छलफलमा माथेमा आयोगको सिफारिस अनुसार विधेयक संशोधन गर्ने भनिए पनि काठमाडौं उपत्यका १० वर्ष सम्बन्धन दिन नहुने प्रावधानलाई सरकार पक्षले अस्वीकार गरेपछि सहमतिले अन्तिम रुप लिन नसकेको हो ।
सरकारले मानेन भने कसरी अगाडि बढ्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा डा. सिंहले भन्नुभयो, ‘हामी मान्दैनौं, डा. केसीले सम्बन्धनको विषयमा सहमति नबने अनशन जारी राख्ने भन्नुभएको छ ।’ यसअघि सरकार र डा. केसीका वार्ता टोलीबीच सहमतिका लागि ७ बुँदा तय गरिएको थियो । डा केसीले नमानेपछि बालुवाटारमा पुन: छलफल भएको थियो । छलफलमा दुई बुँदा थपेर ९ बनाइएको थियो । सहमतिका लागि सरकारका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता सुवास नेम्वाङले सहमतिको लिखित भाषा मिलाउने काम भइरहेको बताउनुभयो ।

सरकारी पक्षले उपत्यकामा १० वर्षसम्म मेडिकल कलेजलाई नयाँ सम्बन्धन दिन नहुने बुँदा खारेज गर्न भनेपछि सहमति जुटन नसकेको डा. केसी पक्षका वार्ता टोलीका सदस्य अभिषेकराज सिंहले बताउनुभयो । डा. सिंहले भन्नुभयो, ‘धेरै कुरामा सहमति भइसके पनि काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न पाउने कि नपाउने भन्ने कुरामा पुन विवाद भएको छ ।’ आमरण अनसनरत डा. केसीले उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने आफ्नो माग पूरा नभए अनसन जारी राख्ने बताउनु भएको छ ।
विगत २७ दिनदेखि अनसनरत डा. केसीले सरकारले व्यापारीलाई पोस्ने गरी आफूलाई झुक्याएर सम्झौता गर्न लागेको भन्दै माग पूरा नभएसम्म अनशन जारी रहने बताउनुभएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धन लगायत चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसीले अनशन थालेको आज २७ औं दिन हो । सरकारी वार्ता टोलीको नेतृत्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र केसीको तर्फबाट डा.अभिषेकराज सिंहले नेतृत्व गरेका छन् ।