monkey_namunanews.com

२४ भदौ, काठमाडौं – स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् ।

त्यस क्षेत्रका बाँदर व्यापक मात्रामा बिरामी भएको पाइएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सीएमडीएन) नामक संस्थाले गरेको अध्ययनका क्रममा यस्तो जीवाणु फेला परेको हो । तीन महिना लगाएर गरिएकाे अनुसन्धानमा ती बाँदरहरुमा झाडापखालाको व्यापक समस्या देखिएको छ ।

सिएमडिएन नामक सो संस्थाका अनुसार बाँदरमा देखिएको क्याम्पिलो व्याक्टेरीया अर्थात झाडापखाला गराउने जीवाणु मानिसमा पनि सर्न सक्छ ।
पशुपति र स्वयम्भूका बाँदरमा देखिएको क्याम्पिलो ब्याक्टेरीया सहजै मानिसमा सर्न सक्ने भएकाले सो क्षेत्र बढी जोखिममा देखिएको सिएमडिएनले जनाएको छ ।

मानिसमा यो जीवाणुले सामान्य झाडापखाला गराउनेदेखि अल्सर, ग्याष्ट्रिक र क्यान्सर सम्म पनि गराउँछ । तर, उनीहरुको उपचारमा क्याम्पिलो ब्याक्टेरिया हेरिदैन । १ सय ११ नमुना परिक्षण गरीएकोमा ६३ वटा नमुना क्याम्पिलो ब्याक्टेरीया पोजेटिभ देखिएको थियो । उक्त ब्याक्टेरीयाका कारण सो क्षेत्रमा बसोवास गर्ने, घुम्न जाने र बाँदर तथा त्यसको दिसा संग सम्पर्क हुने नागरिक जोखिममा हुनसक्ने अधिकारीहरुको भनाई छ ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई क्याम्पिलो व्याक्टेरीया नामक जीवाणुले आक्रमण गर्दछ । अनुसन्धानकर्ताले बाँदरमा कहाँबाट क्याम्पिलो ब्याक्टेरिया सर्‍याे भन्ने खोजीको बिषय भएको बताए ।

विष्टका अनुसार पशुपति र स्वयम्भुमा पाईने बाँदरका प्रजाती र मानिसमा लाग्ने कतिपय रोगको प्रकृति मिल्दा जुल्दा हुन्छन् । त्यसैले सो क्षेत्रका बाँदरमा क्याम्पिलो ब्याक्टेरीया देखिनु जनस्वास्थ्यको हिसावले सचेत बन्ने अवसर हो ।

संक्रणका कारणहरु

पशुपति र स्वयम्भूका बाँदरहरु मानिसको नजिक आउने, खानेकुरा खोसेर खाने, मानिसहरु पनि बाँदर नजिकै गएर जिस्किने गर्दछन् । त्यतिमात्रै होइन, बाँदरले दिसा गरेको स्थानमा कुकुर, बिरालो, कुखुरा लगायतले छुन सक्छन् । जसले गर्दा यी जनावरहरु पनि संक्रमित हुन्छन् र यी जनावरहरुको सम्पर्कमा आउने मानिस पनि जोखिममा पर्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार विश्वमा झाडापखाला गराउने गम्भीर प्रकारका चार ब्याक्टेरियामध्ये क्याम्पिलो पनि एक हो । यो जनावरबाट मान्छेमा सर्ने जीवाणुहरुमध्येमा पर्छ । विशेष गरी कुखुरा, गाई, भैंसी, सुँगुरहरुमा पाइने यो जीवाणु कुकुर र बिरालोमा पनि व्यापक मात्रामा देखिन्छ । क्याम्पिलो ब्याक्टेरिया वातावरण, पानी र खानेकुराका माध्यमबाट सहजै मानिसमा सर्न सक्छ ।