मनसुनसँगै गण्डकी प्रदेशका जिल्लामा बाढीपहिरो सुरु भएको छ । शनिबार राति र आइतबार बिहानको वर्षाले पर्वतका केही घरमा क्षति पुगेको छ ।वर्षाका कारण शनिबार राति जिल्ला समन्वय समितिको भवन भासिएको छ । समितिको मुख्य भवनभित्रका आपतकालीन कार्यसञ्चालन कक्षका दुई कोठा भासिएको समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलले बताए । लमजुङ र मनाङ जोड्ने मोटरेबल पुल बगेको छ ।कास्कीको मादी नदीमा निर्माणाधीन पुल पनि बाढीले बगाएको छ । बाढी पसेर पर्वतको पैयुँ गाउँपालिका–४ का ९ घरमा क्षति पुगेको हो । स्थानीय गेउदीखोलामा आएको बाढी धरमपानी–पैयुँकोट सडकको बाटो हुँदै बस्तीमा पसेको थियो । राति करिब २ बजे बाढी पसेपछि सुतिरहेका सर्वसाधारणले भागेर ज्यान जोगाएका थिए । बाढीले मोतीलाल पौडेल, गोपबहादुर सार्की, हिमलाल तिवारी, लीलादेवी पौडेल, विनोद हमाल, सोमनाथ तिवारी, मोतीलाल रिजाल र गोविन्द पौडेलको परिवार विस्थापित भएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए । सार्की र हमालको घरै बगेको छ । दुवै परिवार छिमेकीको शरणमा छन् । बाढीले करिब ८० रोपनी खेत पनि पुरेको छ । पछिल्लो वर्ष सडक स्तरोन्नतिका लागि जिल्लाका सबैजसो वडामा काम भइरहेको छ । सडक खन्दा निस्केको माटो र ढुंगा व्यवस्थापन नगरिएकाले त्यो बाढी र पहिरोको रूप लिँदै आएको हो । उता एक वर्षअघि मात्रै निर्माण गरिएको लमजुङ र मनाङ जोड्ने म्यार्दीखोला बेलिब्रिज आइतबारको बाढीले बगाएको छ । बेसीसहर–चामे सडकको एकमात्र सडक मार्गमा पर्ने पुल बगाएपछि मनाङसँगको सडक सम्पर्क टुटेको छ । बाढीले पुल बगाएपछि यात्रु रोकिएका छन् । मनाङबाट बेसीसहर आउँदै गरेका चामे गाउँपालिका–१ तिमाङका चीन घलेका अनुसार पुल बगाउँदा सवारी साधन रोकिएका छन् । ‘हामी पुलमात्रै के कटेका थियौं, एक्कासि बाढीले पुल बगाइदियो,’ उनले भने, ‘हामी जोगिन सफल भयौं ।’ पुलसँगै सडक पनि बगेको छ । बेसीसहरबाट जिप चलाएर चामे जाँदै गरेका सोम नेपालीले पुल बगाएपछि यात्रुलाई फर्काउनुपरेको बताए । ‘कतिपय च्याम्चे र केहीलाई बेसीसहर फर्काइयो । च्याम्चेमा झरेकाहरू कोही पुरानो बाटो खोज्दै गएका छन्,’ उनले भने । डीएसपी टीकाबहादुर कार्कीका अनुसार म्यार्दीखोलाको पुलमात्रै नभई तिमाङ छहराको अस्थायी पुलसमेत बगाउँदा आवागमन ठप्प भएको छ । मर्स्याङदीमा बहाव साविकको भन्दा बढी आउन थालेपछि लमजुङका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले नदी तीरमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । दशकपछि बनेको थियो पुल बेसीसहर–चामे सडक निर्माणका क्रममा नेपाली सेनाले २०६४ मा म्यार्दीखोलामा काठेपुल निर्माण गरेको थियो । काठेपुल २०७२ जेठमा भाँचिएको थियो । त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टिल गार्डर ब्रिज’ राखेको थियो । उक्त पुल दुई वर्षअघि पनि बगेको थियो । फेरि काठेपुल बनाइएको थियो । त्यसपछि २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा बेलिब्रिज बनाइएको थियो । पुल २५ मिटर लामो थियो । बेसीसहरदेखि ३५ किलोमिटर र मनाङको चामेदेखि ३० किलोमिटरको दूरीमा म्यार्दीखोला पर्छ । कास्कीको मादी कास्कीको मादी गाउँपालिका– ७ र ३ वडा जोड्ने ज्याम्दुस्थित मादी नदीमाथि निर्माणाधीन पुल पनि आइतबार दिउँसो मादी नदीमा आएको बाढीले बगाइदिएको छ । मृतसञ्जीवनी निर्माण सेवा हेटौंडाको लापरबाही र ढिलासुस्तीले २०७४ असार मसान्तभित्रै बनिसक्नुपर्ने पुल अहिले ५० प्रतिशत पनि बनेको थिएन । त्यही पनि बाढीले बगाइदिएपछि झनै समस्या भोग्नुपर्ने अवस्था आएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । ‘पुल ढलान गर्नका लागि रडको सर्टिङ बगेको हो,’ उनले भने, ‘यसै ठेकेदारले ढिला काम गरेको थियो । अब पुल बन्ने भयो भनेको बगाइदिएर झनै अन्योल थपियो ।’ उनले हिउँदमा सुत्ने र वर्षामा काम गर्ने प्रवृत्तिले यो अवस्था आएको भन्दै जनताको भावनामाथि खेलवाड गरिएको बताए । समयमै पुल नबनेपछि गत असोजमा प्रदेश सांसद र गाउँपालिका अध्यक्षको रोहबरमा निर्माण कम्पनीले यही असार मसान्तभित्र पुल निर्माण सक्ने लिखित प्रतिबद्धता जनाएको थियो । तर अहिलेसम्म पुलको एउटा स्पान पनि तयार भएको थिएन । बायाँतर्फको स्पान बनाउने तयारी भएका बेला बाढीले लगेको हो । पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय र सञ्जीवनीबीच २०७४ असार मसान्तभित्र सक्ने गरी २०७२ चैत २१ मा सम्झौता भएको थियो । प्रिस्ट्रेस प्रकृतिको पुलका लागि ८ करोड ६ लाख ९७ हजार ९ सय ८ रुपैयाँमा सम्झौता भएको हो । तर, निर्माण सक्ने अवधिभित्र काम पनि नथालेपछि यही असारसम्म म्याद थपिएको थियो । थपिएको अवधिमा काम सक्ने छाँटकाँट नदेखिएपछि प्रदेश सांसद मनबहादुर गुरुङ र गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले चासो देखाउँदै गत असोजमा समयमै काम सक्ने लिखित प्रतिबद्धता गराएका थिए । लिखित प्रतिबद्धता जनाए पनि निर्माण कम्पनीले चासो देखाएको थिएन । पुल नबन्दा ग्रामीण पर्यटकीय गाउँ ताङतिङलगायत जान असहज हुँदै आएको छ । साथै त्यस क्षेत्रमा निर्माणाधीन ३ जलविद्युत् आयोजनाका लागि निर्माण सामग्री ढुवानी र अन्य काम प्रभावितभएको छ ।