mathillo tamakosi.namunanews.com

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयर आवेदन दिने समय एक साता थप गरिएको छ । इच्छुकको संख्या अत्यधिक भएपछि आवेदन भर्ने समय एक साता थप गरिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।दोलखा घर भई काठमाण्डौंमा बस्दै आएका सर्वसाधारणका लागि गत साउन १६ गतेदेखि आवेदन खुल्ला गरिएको थियो ।

आवेदन भर्नका लागि दोलखामा रहेका जिल्लाबासीका लागि भदौ १४ गते र काठमाडौंबासीका लागि आजसम्मको समयावधि तोकिएको थियो । समयावधि थपिएपछि काठमाडौंवासीले अब भदौ १ गतेसम्म आवेदन दिन पाउनेछन् ।

आयोजनाले स्थानीयवासीका लागि एक अर्ब पाँच करोड ९० लाख बराबर अर्थात १० प्रतिशत शेयर खुला गरेको हो ।अहिलेसम्म ४५ हजार बढीले आवेदन भरेको र झण्डै १ अर्ब रुपैयाँ संकलन भएको प्रवक्ता न्यौपानेले बताउनुभयो । यसलगत्तै अन्य सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी आयोजनको छ ।

कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनाले आगामी चैतसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको सो आयोजनाको ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । हालसम्म आयोजना निर्माणका लागि ३९ अर्बभन्दा बढी खर्च भएको आयोजनाले जनाएको छ ।