राप्रपा पार्टि फेरि एकताबद्ध ; पर्टिको चिन्न हलो काएमै

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकताको घोषणा हुँदै छ ।

0
544
rp.namunanews.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीच शुक्रबार पार्टी एकताको घोषणा हुँदै छ । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरेपछि दुवै पार्टीबीच एकताको टुंगो लागेको हो ।
राजधानीको राष्ट्रिय सभागृहमा शुक्रबार एकताको घोषणा हुने राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए । उनले दुवै राप्रपाबीचको एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) रहने सहमति भएको बताए ।

‘दुवै राप्रपाबीच शुक्रबार राष्ट्रिय सभागृहमा एकता घोषणा हुने तय भएको छ । पार्टी एकतापछिको पार्टीको नाम राप्रपा (संयुक्त) रहने दुवै अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता गुरुङले राजधानीसँग भने ।

दुवै अध्यक्षले बिहीबार चावहिलस्थित राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

एकता पछि पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई सशक्त रूपमा उठाउने प्रवक्ता गुरुङले जानकारी दिए ।
राप्रपा (राष्ट्रवादी)का सहप्रवक्ता जनक पाठकका अनुसार दुवै राप्रपाबीचको एकता घोषणापछि पार्टीको चुनाव चिह्न भने ‘हलो’ रहने सहमति भएको छ । यस्तै, एकतापछि पार्टीमा दुवै जना अध्यक्ष समान हैसियतमा रहने गरी दुई नेताबीच सहमति भएको पनि उनले जानकारी दिए ।

दुई अध्यक्ष रहने

‘दुई पार्टीबीचको एकता पछि पार्टीको चुनाव चिह्न हलो रहने र दुवै जना अध्यक्ष रहने गरी दुई अध्यक्षबीच सहमति भएको छ,’ राप्रपा (राष्ट्रवादी) का सहप्रवक्ता पाठकले भने ।

एकतापछि दुवै अध्यक्षको सहमतिमा कार्यसम्पादन समिति र निर्देशन समिति बन्ने सहमतिसमेत भएको छ । तर, सो समितिमा कति सदस्य रहने र को–को रहने भन्नेबारे दुवै अध्यक्षको सहमतिमा पछि निर्णय गर्ने बताइएको छ । यस्तै, केन्द्रीय समितिमा रहने सदस्यहरूको समेत दुई नेताले नै अन्तिम टुंगो लगाउनेछन् ।

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता गुरुङले दुवै अध्यक्षको सहमतिमा एकता घोषणा भएको १५ दिनदेखि एक महिनाभित्रैमा कार्यसम्पादन समिति, निर्देशन समिति र केन्द्रीय समितिबारे टुंगो लाग्ने जनाए । हाल राप्रपा (प्रजातान्त्रिक)मा २५१ जनाको केन्द्रीय समिति छ भने राप्रपा (राष्ट्रवादी) मा ११६ जना केन्द्रीय सदस्य छन् । राजधानीबाट ।