वर्षातको कारणले कानमा देखियो असामान्य रोग

0
535

वर्षाको समयमा कुनै पनि किसिमको संक्रमण फैलने डर बढी हुन्छ । संक्रमणका कारण अन्य समस्याजस्तै कानको समस्या पनि बढी फैलन्छ र यसले ठूलो समस्या निम्त्याउन सक्छ ।

कान मानिसको महत्वपूर्ण अंग हो । यसले मुख्य रूपमा दुईवटा काम गर्छ ( १) सुन्ने काम २) शरीरलाई सन्तुलनमा राख्ने काम
शारीरिक संरचना हेर्दा कानमा ३ भाग देखिन्छ : बाहिरी कान, माझको कान र भित्री कान ।

भित्री कानको रचनामा विकार आएको स्थितिमा रिँगटा लाग्ने, हिँड्न कठिनाइ हुने, उल्टी हुने वा होला होलाजस्तो हुने तथा कानमा विभिन्न प्रकारका आवाज आएजस्तो हुने लक्षण देखा पर्छन् । कानको प्रत्येक सूक्ष्म अंगले ठीकसँग कार्य गरेको खण्डमा मानिसले राम्रोसँग कान सुन्दछ । यी अंगहरूमा कानको जालीदेखि लिएर माझको कान तथा भित्री कानमध्ये कुनैमा समस्या देखा परे श्रवणहीनता अर्थात् सुन्न नसकिने समस्या पैदा हुन्छ ।

सामान्यतः हामीकहाँ कानबाट पीप आउनुलाई त्यति गम्भीरतापूर्वक लिइँदैन, जब कि यो गम्भीर हुन पनि सक्छ । यसलाई गम्भीर रूपमा लिएर चिकित्ससित सल्लाह, सुझाव वा उपचार सेवा लिनुपर्छ अन्यथा यसबाट मेनेन्जाइटिस एवं मस्तिष्कमा एक विशेष प्रकारको क्यान्सरजस्ता विभिन्न समस्या उत्पन्न हुनसक्छन् ।

527061_265_namunanews.com

कान पाकेर पीप निस्कने समस्या कुनै पनि उमेरमा हुनसक्छ । यद्यपि यो एक वर्षभन्न्दा कम उमेरका बालबच्चा वा आमाको काखमा धेरै बसिरहने बच्चालाई हुनसक्छ । भनाइको अर्थ जो आफैं बस्न वा कोल्टे र्फकन सक्दैनन् त्यस्ता बालबच्चालाई कान पाक्ने समस्या हुने सम्भावना बढी हुन्छ । कानबाट पीप बग्ने ठाउँ माझी कान हो अर्थात् माझको कानमा संक्रमण भएपछि पीप बग्न थाल्छ ।

माझी कान सुन्निएर, पाकेर जाली फुटेपछि पीप बग्न थाल्छ । माझी कानमा संक्रमण हुने तीनवटा बाटा छन् जसमध्ये ८० देखि ९० प्रतिशत घाँटीसँग कान जोडिने नली हो, यसमार्फत नाक तथा घाँटीको सामान्य रुघाखोकी, टन्सिलाइटिस आदि कारणबाट संक्रमण माझी कानसम्म पुग्छ ।

बच्चाहरूको घाँटीसँग कान जोड्ने नली छोटो र फराकिलो हुन्छ । यसकारण दूध चुसाउने आमाहरूले विशेष ख्याल राख्नुपर्ने हुन्छ । बच्चालाई काखमा राखी उसको टाउको पछाडि हातले अड्याएर अलिकति उचाली दूध खुवाउनुपर्छ । सुतेर दूध चुसाउँदा यस्तो समस्या देखा पर्ने समस्या बढी हुन्छ ।

रुघाखोकी लागेको अवस्थामा तोरीको तेल तताएर पेट, पिठिउँ, छाती, अनुहार तथा टाउकामा मालिस गर्ने आयुर्वेदिक उपाय अवलम्बन गर्नुपर्छ ।

संसारमा लाखौँ मानिस बहिरोपनको सिकार छन् । कम सुन्नु वा अलिकति पनि नसुन्नु बहिरोपन हो ।

सुरुमा समस्या कमजस्तो लाग्छ पछि विस्तार विस्तार बहिरोपनजस्तो गम्भीर समस्याका रूपमा समेत देखा पर्नसक्छ । कसैले ठूलै स्वरले बोल्दा पनि राम्रोसँग सुनिएन भने वा सुन्नका लागि बल गर्नुपर्ने अवस्था छ भने पछि बहिरोपनको समस्या हुनसक्छ ।
सुझाब
ear problem_namunanews.com

-कम सुन्न थालेजस्तो महसुस भयो भने वा कानमा कुनै इन्फेक्सन भयो भने तुरुन्त चिकित्सकीय परामर्श लिनुपर्छ ।

-चर्को आवाजमा लगातार इयरफोनबाट संगीत सुन्नुहुँदैन ।

-घरमै कान सफा गर्ने प्रयास गर्नु हुँदैन, यो काम विशेषज्ञबाटै गराउनुपर्छ ।

-कानमा हेयरक्लिप्स, सेफ्टी पिन सलाईको काँटी एवं तिखो वस्तु हाल्नुहुँदैन, यसो गर्दा कानको जाली फुट्न सक्छ ।

-चिकित्सकको परामर्शबिना एन्टीबायोटिक एवं दुखाइ कम गर्ने औषधी सेवन गर्नुहुँदैन ।

-प्रेसर हर्न, चर्को आवाज आदिबाट सम्भव भएसम्म जोगिने, यसका लागि कानमा कपास कोचेर हिँड्न सकिन्छ ।

-सुन्ने क्षमता कम भएजस्तो लागेमा अडियोमेट्री जाँच गराउनुपर्छ ।

-रातको समयमा इयरफोनको प्रयोग सकेसम्म गर्नुहुँदैन ।

-गाडी चलाइरहेको अवस्थामा मोबाइल फोनको प्रयोग गर्नुहुँदैन ।