विद्यार्थीबाट १ करोडसम्म असुली

0
545

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ ।काठमाडौं विश्वविद्यालयले एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । कलेजहरूले संस्थागत निर्णय गरेर करोडौं रकम जम्मा पार्दा पनि विश्वविद्यालय बसेकाले मिलेमतो हुन सक्ने विद्यार्थीले आशंका गरेका छन् । विश्वविद्यालयको वेबसाइटमा एमबीबीएस अध्ययनका लागि लाग्ने शुल्क उल्लेख गरिएको छैन ।एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन् । बीडीएस अध्ययनका लागि सरकारले १९ लाख ३२ हजार शुल्क तोकेको छ । वेबसाइटमा २३ लाख २० हजार शुल्क तोकिएको छ । एमबीबीएस पढ्ने विद्यार्थीसँग कलेजहरूले ६० लाखसम्म शुल्क लिने गरेका छन् । ‘बिल भर्पाइ दिएर देखिने गरी लिने शुल्क ६० लाख हो,’ केयूअन्तर्गतको एक मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले भने, ‘कोर्स पूरा हुँदासम्म अनेक बहाना बनाएर ८० लाखदेखि १ करोडसम्म शुल्क लिन्छन् । विद्यार्थीबाट लिने शुल्कको दर पनि फरक/फरक छ । सरकारले एमबीबीएस अध्ययन गर्न काठमाडौं उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार शुल्क तोकेको छ । काठमाडौंको नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज (केएमसी), कान्तिपुर डेन्टल कलेज, भरतपुरको कलेज अफ मेडिकल साइसेन्स, नोबेल मेडिकल कलेज मोरङ, नेपालगन्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज पाल्पा, विराट मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज रूपन्देहीले शैक्षिक शुल्कको नाममा विद्यार्थीसँग अतिरिक्त शुल्क लिएर ठगी गरेको विद्यार्थीले गुनासो गरेका छन् ।कलेजहरूले ४ किस्तामा गरेर ४९ लाख ९० हजार विद्यार्थीबाट लिन्छन् । सरकारले काठमाडौं उपत्यकाबाहिर ४२ लाख रुपैयाँ ३ किस्तामा लिने प्रावधान बनाएको छ । केयूले सम्बन्धन दिएका कलेजहरूले भर्नाका बेला २५ लाख लिन्छन् । ५० र २५/२५ प्रतिशतको किस्ता प्रणाली पनि उल्लंघन गरिएको छ । पहिलो, दोस्रो र तेस्रो वर्षमा क्रमशः ८ लाख ३० हजारका दरले रकम असुल्ने गरिएको छ ।कलेजहरूले इन्टर्नसिप शुल्कबापत ३ लाख ४० हजार, डेभलपमेन्ट फि भनेर ३ लाख, परीक्षा शुल्कबापत ७५ हजार, फिल्ड भिजिट एक लाख २० हजार, डिपोजिट रकम एक लाख, इन्सुरेन्स चार्ज ३० हजार, भर्ना फाराम, पुस्तकालयलगायत शुल्क लिने गरेका हुन् । विभिन्न कलेजबाट प्राप्त बिलभर्पाइ, बैंक भौचर र कागजातमा शुल्क शीर्षक र शुल्क दर फरक/फरक रहेको छ । यी शुल्क होस्टल र खाना खर्चबाहेक हुन् ।