school_namunanews.com

काठमाडौं– जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा विद्यार्थी मृतावस्थामा फेला परेका छन्। जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ स्कूलको होस्टेलमै बस्ने गरेका थिए। राति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामान प्रहरीले नियन्त्रण लिएर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको बताए। प्रहरी उपरिक्षक थपिलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको प्रतिवेदनपछि मात्र हत्या वा आत्महत्याबारे भन्न सकिने स्पष्ट पारे।