education-board-namunanewsnepal-1

सामुदायिक विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गर्न शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको परीक्षा चौथोपटक स्थगन भएको छ। आयोगले चैत २३ गतेलाई तोकेको परीक्षाको सम्पूर्ण तयारी गरिसकेको भए पनि शिक्षा मन्त्रालयको अनुरोधमा शुक्रबार परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। परीक्षाको अर्को मिति छलफलपछि मात्र तय गरिने आयोग अध्यक्ष ताना गौतमले बताए। १० महिनाको अवधिमा परीक्षाको मिति तोकेर पनि स्थगन भएको यो चौथो पटक हो।

सामुदायिक विद्यालयमा लामो समयदेखि समस्याका रूपमा रहेको अस्थायी शिक्षकका समस्या समाधन गर्न २०२८ सालको शिक्षा एनेमा आठौं संशोधन गरेर अस्थायी शिक्षकमध्ये ४९ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने र आन्तरिक प्रतिस्पर्धामा सहभागी हुन नचाहनेलाई सेवा अवधि गणना गरेर उपदान दिने व्यवस्था गरिएको थियो। सोही व्यवस्थाअनुसार आयोगले पहिलो पटक असार २४ गतेलाई परीक्षाको मिति तोकेको थियो।
तर, त्यतिखेर आन्तरिक प्रतिस्पर्धामा सहभागी हुनेलाई निर्धारण गरिएको ४९ प्रतिशत कोटा अपर्याप्त रहेको तथा आन्तरिक परीक्षामा असफल हुनेलाई पनि ‘गोल्डेन ह्यान्डसेक’ को व्यवस्था गर्नुपर्नेलगायत माग राख्दै अस्थायी शिक्षकको एक समूह आन्दोलनमा उत्रेपछि पहिलोपटकको परीक्षा मिति स्थगन गरिएको थियो। त्यतिखेर ऐनमा नवौं संशोधन गरेर शिक्षकका माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धता आएपछि शिक्षक आन्दोलन रोकिएको थियो। यही बीचमा शिक्षा मन्त्रालयले ऐन संशोधन प्रक्रिया अघि बढाउने बताएपछि आयोगले भदौ ३ गतेका लागि परीक्षाको दोस्रो पटक मिति तोकेको थियो।

तर, परीक्षाको मिति नजिकिँदै गर्दा पनि ऐन संशोधन नभएपछि शिक्षकहरू आन्दोलनमा उत्रे। त्यतिखेर तराइमा बाढीले ठूलो क्षति पु¥याएको थियो। मुख्य कारण शिक्षक आन्दोलन भए पनि आयोगले भने शिक्षकलाई परीक्षामा सहभागी हुन अप्ठ्यारो पर्ने बहाना बनाएर एक साता स्थगन गरेर भदौ १० गतेलाई परीक्षाको अर्को मिति तोकेको थियो।

त्यतिखेरसम्म पनि ऐन संशोधन नभएपछि शिक्षकहरू झन् आक्रोशित बनी आन्दोलन गर्दै आमरण अनशनमा बसे। फेरि शिक्षा मन्त्रालयकै अनुरोधमा स्वायत्त शिक्षक सेवा आयोग परीक्षाको मिति तेस्रो पटक स्थगन गर्न बाध्य भयो। यही बीचमा ऐनको नवौं संशोधन गरेर कार्यरत अस्थायी शिक्षकमध्ये ७५ प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउने र उक्त प्रतिस्पर्धाको परीक्षामा अनुत्तीर्ण हुनेलाई सेवा अवधि गणना गरेर ‘गोल्डेन ह्यान्डसेक’ को व्यवस्था गरियो। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।