blood test_namunanews.com

हालै गरिएको एउटा अध्ययनले कोरोना खोप र मान्छेको रगत परीक्षणबीच रोचक सम्बन्ध संकेत गरेको छ।

बाँदरहरूमा गरिएको  उक्त अध्ययनअनुसार कुनै पनि मानिसले रगत परीक्षण गराउने हो भने उसमा कोरोना खोपले कत्तिको प्रभावकारिता देखाउनेछ भनेर जान्न सकिनेछ। त्यस्तै रगत परीक्षणले संसारभर करोडौं मानिसलाई खोप लगाउन क्लिनिकल परीक्षणमा जुन अवधि लाग्छ, त्यो पनि घटाउन सक्ने अनुमान छ।

यो अध्ययनको रिपोर्ट शुक्रबार विज्ञानसम्बन्धी विश्वप्रसिद्ध जर्नल ‘नेचर’मा प्रकाशित थियो। रिपोर्टअनुसार परीक्षणमा प्रयोग भएको बाँदरको रगतबाटै उसको शरीरमा भएको रोग प्रतिरोधी क्षमताले कोरोना सर्नबाट रोक्न सक्छ वा सक्दैन भन्ने पूर्वानुमान लगाउन सकिने फेला परेको थियो।

त्यसैगरी रगत जाँचबाट प्राप्त उही संकेतबाटै क्लिनिकल परीक्षणमा संलग्न भएर खोप लगाएका मानिसको अवस्था पनि जान्न मिल्ने आशाको सञ्चार गराएको छ। रगतमा भेटिने संकेत बलियो छ भने त्यसले नै कोरोना खोपले सुरक्षा दिन सक्छ कि सक्दैन भनेर जानकारी दिनेछ।

त्यसले अहिलेजस्तो खोपका निम्ति स्वयंसेवकलाई रोगको मुखमा राखिदिनुपर्ने अवस्थाबाट पनि मुक्ति मिल्नेछ।

‘कोरोना खोप क्षेत्रमा यसले अत्यधुनिक प्रगतिको बाटो खुला गर्नेछ,’ यो नयाँ अध्ययनमा संलग्न बोस्टनस्थित संस्था बेथ इजरायल डिकोनेस मेडिकल सेन्टरका भ्याक्सिन विज्ञ डा. डान बारुच भन्छन्।

गत महिना कोरोनाविरूद्ध खोप निर्माणमा जुटेकामध्ये दुइटा कम्पनीले विश्वलाई तहल्का मच्चिने समाचार दिए। ती थिए मोडेर्ना र फाइजर-बायो एन टेक। उनीहरूका खोप लगभग ९५ प्रतिशत हाराहारी प्रभावकारी पाइएको हो।

यी दुइटा कम्पनीको सफलताको समाचार उही खोप बनाउन जुटेका संसारभरका दर्जनौं अन्य कम्पनीका निम्ति भने दुःखद समाचार बनिरहेको थियो। उनीहरूका खोप परीक्षणको प्रारम्भिक चरणतिरै थियो। उनीहरूमध्ये धेरै उत्पादकले आफूलाई केवल ‘प्लेसिबो सट’ उत्पादन गर्नेभन्दा पनि खोपको अग्रपंक्तिकै धावक बनाउन चाहेका थिए।उनीहरूलाई परीक्षणका निम्ति अझ बढी स्वयंसेवीहरू, आवश्यक अवधि र पैसा जरुरत पर्थ्यो जुन पहाड समान पर्खाल थियो।

‘लाखौं मानिसलाई लामो अवधिसम्म पछ्याउनु पर्थ्यो, जुन मुश्किल थियो,’ सन् २०२१ प्रारम्भमै प्रोटिनमा आधारित खोपको क्लिनिकल परीक्षण तयारीमा जुटेको सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एट वाल्टर रिड आर्मी इन्स्टिच्युट अफ रिसर्चका निर्देशक डा. नेल्सन माइकल भन्छन्।

केही साना कम्पनीका निम्ति भने यो अवस्था लाभदायी पनि हुनसक्छ।

‘सुरूमा अग्रपंक्तिमै देखिए पनि बीचैमा लत्तो छाडेर बाहिरिने पनि थुप्रै हुनेछन्,’ मायो क्लिनिकका खोप विज्ञ डा. ग्रेगोरी पोल्याण्ड भन्छन्। र, त्यो वास्तवमै समस्याका रूपमा देखिने पनि छ। किनभने फाइजर र मोडर्नाजस्ता कम्पनीका लागि संसारभरको त कुरै छाडौं, केवल अमेरिकामा मात्रै पनि सबैलाई पुग्ने गरी खोप तयार पार्न हम्मेहम्मे पर्नेछ।

यस्तो अवस्थामा खोपको अब आउने अर्को लहरले कुनै न कुनै अर्थमा अघिल्ला सफल भनिएका खोपभन्दा बढी सफलता दर प्रस्तुत गर्न सक्नेछन्। केही नभए पनि मूल्य हिसाबले अघिल्लाभन्दा धेरै सस्तो हुन सक्ने छन्। वा दुई होइन, एकै डोज लगाएर काम चल्ने खोप आउन सक्लान्। त्यसैगरी कुनै खोप त ‘डिप फ्रिज’मा नराखेरै प्रयोग गर्न सकिने खालका आइदेलान्। वा कुनै खोप अन्यका तुलनामा निकै लामो समय प्रभावकारी देखिने गरी पनि तयार भइदेला।

‘सायद हामीले हरेक एक वा दुई वर्षमा संसारभरका मानिसलाई फेरि खोप भ्याक्सिन लगाउँदै हिँड्नुपर्ने झन्झटै पनि नरहन सक्छ,’ डा. माइकल भन्छन्।

बाँदरहरूमा गरिएको पछिल्लो अध्ययनले अब आउने खोपमा यस्ता धेरै आशाका किरण भेटिने संकेत गरेको छ। पुराना खोपभन्दा बेग्लै ‘सुरक्षामा सहकार्य’ जस्ता मापदण्ड तिनले पछ्याउन सक्नेछन्।

‘खोप अनुसन्धानका क्षेत्रमा यो पवित्र अन्त्येष्टिथलो हो,’ डा. माइकलले भने।

रुघामर्कीको खोप तयार पार्नेबेलामा पहिले नै यस्तो परीक्षण उपाय अपनाइसकिएको छ। हरेक पटक चिसो मौसमसँगै रुघाका नयाँ अनि उन्नत औषधि तयार पार्नुपर्ने हुन्छ जसका लागि अनुसन्धाताले पुराना औषधिले अपनाएका क्लिनिकल परीक्षणकै बाटो अबलम्वन गर्नुपर्ने जरूरी हुँदैन। बरु उत्पादकले रुघाविरूद्ध लड्न कुनै प्रकारको ‘एन्टिबडी’ विकास गरिदिन सक्ने हिसाबले मानिसको रोग प्रतिरोधी क्षमता त्यो नयाँ खोपले उकास्छ कि उकास्दैन भनेर मात्रै परीक्षण गर्छन्। गर्छ भने, अनुसन्धाताहरू ढुक्क हुन्छन्।

यदि वैज्ञानिकहरूले माथि रुघामा भनिएझैं कोरोनाको पनि ‘सुरक्षामा सहकार्य’ सूत्र फेला पारे भने उपयोगी हुन सक्नेछ।

‘यो पूर्णतया प्रशंसनीय अनि सम्भाव परिदृश्य हो,’ नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. एन्थोनी फाउची भन्छन् ।

उता अमेरिकाकै फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) प्रवक्ताले पनि यदि यो सभ्भव भए भविष्यका लागि सुखद समाचार बन्ने बताएकी छिन्।

यो नयाँ अनुसन्धानमा संलग्न डा. बारुच र उनका सहकर्मी भने बाँदरमा गरिएको परीक्षणले ‘सुरक्षामा सहकार्य’ अवस्था फेला परेको बताउँछन्। उनीहरूले यसअघि पनि बाँदरमै परीक्षण गरेर एकपटक कोरोना रोग लागेर निको भइसकेको छ भने दोश्रोपटकको संक्रमण सम्भावना नहुने तथ्य पत्ता लगाएका थिए।

वैज्ञानिकहरूले संक्रमित बाँदरको रगत झिकेर त्यसमा सुरक्षात्मक एन्टिबडीको एउटा क्रमलाई बाहिर निकालिदिएका थिए जसलाई ‘आइजीजी’ भनिन्छ। अध्येताले त्यही आइजीजीको मात्रा अवलोकन गरेका थिए जसले बाँदरलाई कोरोनाबाट बचाउन सक्छ कि सक्दैन भनेर पत्तो लगाउनु थियो। खोप दिइएका बाँदरमा आइजीजी एन्टिबडी मात्रा पर्याप्त फेला पर्नुले खोप प्रभावकारी छ भनेर पुष्टि गर्थ्यो।

त्यो पत्ता लगाउन अध्येताहरूले बाँदरमा फरक मात्रामा एन्टिबडी हालिदिएका थिए। त्यसपछि ती सबै बाँदरलाई कोरोना संक्रमण हुने अवस्थामा राखिदिएका थिए। संक्रमणसँग ती फरक बाँदरले कसरी मुकाबिला गर्दैछन् भनेर चियो गरिएको थियो। जुन बाँदरमा कम एन्टिबडी राखिएको थियोऽ, त्यसमा भाइरसको आक्रमण बढी पाइयो।

तर, मध्यम डोज दिइएका बाँदरमा भने त्यो मात्राभन्दा अत्यन्तै थोरै मात्र भाइरस उत्पादन भइरहेको पाइयो। मध्यम डोज पाएकै कतिपय बाँदरले शरीरको भाइरस निमिट्यान्न पार्न सफल भएको देखियो। पूर्ण मात्रा डोज दिइएका बाँदर भने शतप्रतिशत सुरक्षित भेटिए।

अहिलेसम्म बैज्ञानिकहरूले आइजीजी एन्टिबडीले अवस्था हेरेर मात्र काम गर्छ भन्ने विश्वास बोकेका थिए। यस्तो अवस्थामा कोरोना संक्रमणबाट निदान पाउन यो महत्वपूर्ण हुन्छ भन्ने पूर्ण भरोसा थिएन। नयाँ उपायले भने अब यो तरिकालाई परीक्षणमा समेट्ने र संक्रमण रोक्न आइजीजी एन्टिबडीको सीमा निर्धारण गर्ने मार्ग प्रशस्त गरेको छ।

‘मैले जानेसम्म यो पहिलोपटक एन्टिबडीले वास्तवमै सुरक्षा प्रदान गर्छ भन्ने तथ्य हामीले प्रमाणित गरेका छौं,’ डा. बारूच भन्छन्, ‘बाँकी सबै तथ्यांकगत तर्क मात्रै हुन्।’

यो प्रयोगले मध्यम स्तरका आइजीजी एन्टिबडी नै पर्याप्त हुन्छ भन्ने उजागर पनि गरेको छ। खोप निर्माताका लागि यो सुखद समाचार हुन सक्छ। एउटा यस्तो सुखद समाचार जसले औसत स्तरका खोप पनि प्रभावकारी हुन सक्नेछन् भन्ने सन्देश दिएको छ।

अध्येताहरूले अब आएर डा. बारुच र उनका सहयोगीले बाँदरमा गरेको प्रयोग मानवमा पनि कत्तिको प्रभावकारी हुन्छ भनेर खोजी सुरू गरिसकेका छन्।

‘रोग प्रतिरोधीका सम्बन्धमा गरिने आगामी अध्ययनमा यो उपलब्धि उपयोगी हुनेछ,’ सियाटलस्थित फ्रेड हटचिन्सन क्यान्सर इन्स्टिच्युटमा बायो तथ्यांकशास्त्री होली जेन्स भन्छिन्। उनी डा. बारूचको अध्ययन टोलीमा सामेल भने थिइनन्।

‘यद्यपि यो अध्ययनले देखाएको नतिजाबाट ठोस उपलब्धिसम्म पुग्न केही समय लाग्छ,’ डा. जेन्स भन्छिन्, ‘प्रारम्भिक नतिजाले पनि मलाई आशावादी भने बनाइरहेको छ।’

पछिल्लो समय उघ्रिँदै गरेका तथ्यांकले आफूहरूलाई उल्लासपूर्ण आश्चर्यतर्फ डोर्‍याउन सक्ने विश्वास उनले व्यक्त गरिन्।

(द न्यूयोर्क टाइम्सका लागि कार्ल जिम्मरले रेबेका रोबिन्सको सहयोगमा तयार पारेको लेखको भावानुवाद)